काठमाडौं– स्कुलको जग्गा व्यक्तिलाई दिलाएको आरोपमा प्राधानाध्यापकसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर भएको हो।
तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानुनीरुपमा बिक्री वितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैंले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनीरुपमा भोगचलन गर्नेगरी बिक्री गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसूर गरेको अख्तियारले जनाएको छ।
तर, उनीहरुमध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको पाइएको छ। मृत्यु भए पनि मृतक व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले उनीहरुले बिक्री गरेको जग्गाको रकम असुल गराउने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरी मागदावी लिइएको भण्डारीले जनाए ।
विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैंले घडेरी नम्बर कायम गरी सन्तबहादुर सिंजाली मगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्दिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई १ लाख ६९ हजार ५१ रुपैयाँ दिई भोगचलन गरेको देखिएकाले उनीहरुलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।