काठमाडौं- आँखामा खुर्सानीको धुलो छर्केर सुनचाँदीका गरगहना लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङको सौडियार गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र घोराही उपमहानगरपालिका–८ रतनपुर घर भएका २४ वर्षीय राजेन्द्र सिन छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
फागुन २५ गते राति साढे ८ बजेतिर काठमाडौं चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसल बन्द गरी साथमा रहेको ४२ तोला सुन र नगद १२ लाख रुपैयाँ लिएर चुच्चेपाटीस्थित घर फर्कने क्रममा भारत महाराष्ट्रका ३४ वर्षीय अमोल भोस्ले लुटिएका थिए।
भोस्ले सवार स्कुटर चुच्चेपाटीमा रहेको एनसीसी र एनएमबी बैंकको पछाडि रोकेर उक्त समूहले आँखामा खुर्सानीको धुलो छर्केर साथमा भएको सुन र नगद लुटेको एसपी मैनालीले बताए।
अनुसन्धानको क्रममा तीन दिनदेखि उनीहरुले एक क्याफेमा बसेर लुटपाटको योजना बनाएको खुलेको थियो। त्यसपछि आँखामा खुर्सानीको धुलो हालेर उनीहरुले भोस्लेलाई लुटेका थिए।
लुटपाटमा प्रयोग भएको महेशले प्रयोग गरेको बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र उनीबाट ६६ हजार रुपैयाँ बरामद गरेको छ।
त्यसैगरी राजेन्द्रबाट रा ४ प ११२० नम्बरको मोटरसाइकल धारिलो खुँडा, तरबार २६१ ग्राम सुन र नगद १ लाख बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २० अन्तर्गतको दफा २४४ को डाँका गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।