काठमाडौं– कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो।
कोरियामा गई काम गर्न इच्छुक नेपालीले अनिवार्य रुपमा उक्त भाषा परीक्षा पास गनर्सपर्ने हुन्छ।१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउने सूचनामा उल्लेख छ।
कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुने सूचनामा उल्लेख छ। त्यसैगरी, उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ।
सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ। ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ।
परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।