काठमाडौं– अभिनेता सुरज पाण्डले निर्देशकको रुपमा डेब्यु गर्न लागेको फिल्म ‘परस्त्री’को छायांकन सुरु भएको छ। आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहुर्तसँगै छायांकन सुरु भएको फिल्मको निर्माण पक्षले जनाएको छ।
फिल्मको छायांकनका लागि आज निर्माण पक्ष मुस्ताङ गएको छ। मुस्ताङमा १० दिन छायांकन गरिने फिल्म त्यसपछि काठमाडौंमा ३० दिनसम्म छायांकन हुनेछ। मुस्ताङमा गीतको छायांकन गरेसँगै काठमाडौं फर्किएर फिल्मका अन्य दृश्यहरुको छायांकन सुरु गरिने लेखक दीपेन्द्र के खनालले बताए।
नेपालीसँगै हिन्दी भाषामा निर्माण गरिने फिल्मको छायांकनको सुरुवातसँगै फिल्मको निर्माण पक्षले फिल्मको प्रदर्शन मितिको पनि घोषणा गरेको छ। निर्माण पक्षकाअनुसार फिल्म आगामी वर्ष कात्तिक ६ गते नेपालभर प्रदर्शन हुनेछ।
डीएस डिजिटलको ब्यानरमा बनेको फिल्मलाई शर्मिला पाण्डे र लेखक खनालले नै लगानी गरेका छन्। डार्क थ्रिलर विधामा रहेको फिल्ममा अभिनेता कोसिस क्षेत्री र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।