काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कांग्रेस र एमाले दुवै आफूलाई हराउन सक्रिय भएको बताएका छन्। नेकपा एकीकृत समाजवादीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा उनले दुवै पार्टीले बोरामा पैसा लिएर आफूलाई हराउने योजना बनाइरहेको दाबी गरे।
उनको दाबी छ, 'अस्ति कांग्रेसका एकथरिको बैठक भएछ। को मान्छेलाई हराउने भन्दा नम्बर १ झलनाथ खनाल भनेछन्। उनीहरु बोरामा पैसा लिएर जान्छन्। केपी ओली पनि पैसाको बोरा लिएर जान्छन्। पर्सी ६ गते ओलीलाई फिक्कल लाने रे। कति मान्छे आउँछन् हेर्न बाँकी छ।'
उनले कांग्रेसको चरित्र नै बोरामा पैसा बोकेर आउने भएको बताउँदै थपे, 'कांग्रेसको चरित्र नै त्यस्तै हो। सवै जित्छौं भन्छन्।'
तर, कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अझै गठबन्धनको पक्षमा रहेको बताउँदै खनालले कार्यकर्तालाई ढाडस दिए। उनले भने, 'गठबन्धन नचाहने एकथरि छन् कांग्रेसभित्र। प्रधानमन्त्रीजी गठबन्धनकै पक्षमा हुनुहुन्छ। नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ। प्रधानमन्त्रीजी गठबन्धनको पक्षमा हुनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।