फाइल तस्बिर।
काठमाडौं- पार्टीनिकट पत्रकारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्ने विषयको टिप्स प्रदान गरेका छन्। शुक्रबार पोखरामा आयोजित प्रेस चौतारीको नवौं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले अहिले सामाजिक सञ्जालको दुनियाँ भएकाले ट्विट गर्दा र फेसबुकमा लेख्दा एकैपटक दुनियाँभर पुग्ने स्मरण गराए।
'त्यसकारण हामीले यस्तो चिज मात्रै बोल्ने अभ्यास गरौँ। ट्विट गर्दा यस्तो गरौँ। जो सही, उचित र आवश्यक हुन सकोस्। अनावश्यक नहोस्। हाम्रो फेसबुक स्टाटसले राम्रो कुरा देओस्', उनले भने।
ओलीले हरेक कुरा फेसबुकमा लेख्ने शैलीप्रति पनि व्यंग्य गरेका थिए। 'हामी यसरी फेसबुक स्टाटस लेख्न थालेका छौँ। फेसबुकमा पहिले 'प्यास लाग्यो, पानी खाऊँ कि क्या हो' भनेर लेख्यो, अनि पानी खायो। फेरि फेसबुक- 'पानी खाएको, कस्तो आनन्द भयो, प्यास लागेको बेला।' यो अगाडिको फेसबुक र पछाडिको फेसबुकको के मतलव छ भन्नुस् त। तर तपाईंहरु यसरी फेसबुक लेख्नुहुन्छ कि हुन्न? अवश्य लेख्ने गर्नुहुन्छ। यसरी लेख्ने नगर्नुस्',उनको सुझाव थियो।
ओलीले फेसबुकमा लेख्दा खर्च हुने कुराको हेक्का राख्न भनेका थिए। याद गरिराखिएको हुँदैन तर खर्च गइराखेको हुने उनको भनाइ थियो। उनले आफूहरु पुँजीवादी दुनियाँमा बाँचिरहेको भन्दै कुनै पनि कुरा फ्री नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।