काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। शुक्रबार पोखरामा आयोजित एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारीको नवौं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले गत असार २८ को फैसलासँग जोडेर अभिव्यक्ति दिएका हुन्।
'तपाईं परमादेशको समर्थन गर्न सक्नुहुन्छ?', पत्रकारहरुलाई प्रश्न सोध्दै उनले भनेका थिए, 'हामीले लडेर लोकतन्त्र ल्यायौँ। तर, आज त्यसको मजाक उडाएको छ। संविधानको मजाक उडाएको छ। जनादेशको मजाक उडाएको छ। जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ।'
उनले सेटिङमा सब काम भइरहेको बताए। उनले एकजना न्यायाधीशको अमेरिकाबाट इमेल आएको भनेर यसअघि भन्ने गरेको सन्दर्भ पनि दोहोर्याएका थिए।
'एकजना न्यायाधीशको अमेरिकाबाट इमेल आउँछ- केपी ओलीको सरकार ढाल्नु नै थियो, नढाली भएको थिएन। किन? न्यायाधीशको के बिगारिदिएको थियो, त्यो सरकारले। त्यहाँनेर वर्गीय पूर्वाग्रह, दूराग्रह र विकास विरोधी एउटा षडयन्त्रको हिस्सेदार भएर त्यसप्रकारको काम भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ। ढाल्नै पर्थ्यो। संविधानले त्यो दिँदैनथ्यो। त्यकारण संविधानभन्दा बाहिर गएर पनि ढाल्नुपरेको थियो। संविधान बाहिर गइगइकन हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ। अथवा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ', उनले भने।
ओलीले सरकार परिवर्तन गर्दा नभएको अधिकार प्रयोग गरिएको बताए। 'सरकार बनाउने संसद्को काम हो, जनप्रतिनिधिहरुको काम हो। अदालतले गर्दैन त्यो', उनले भने, 'तर, नेपालमा, एकपल्ट एक जनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, नेपालको सर्वोच्च अदालतमा ब्यायो। २०५२ सालमा भनेका थिए। अहिले गोरु ब्यायो मात्रै होइन, पाँच वटा पाठा पायो। बाछा।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।