काठमाडौ– व्यवसायी निकोलस पाण्डेले निर्माण व्यवसायी महासंघको अध्यक्षमा लबिइङ सुरु गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेका छोरा निकोलसले कांग्रेसका तर्फबाट अध्यक्ष पदमा लविइङ तिव्र पारेका हुन्। उनले गत वर्ष कांग्रेसको सदस्यता लिएका हुन्।
शुक्रबारबाट काठमाडौंमा निर्माण व्यवसायी महासंघको महाधिवेश सुरु भएको छ। राजनीतिक पार्टीमा समेत अहिले नयाँ पुस्ता आएकाले निर्माण क्षेत्रको नेतृत्वमा पनि नयाँ पुस्ता आउनु स्वाभाविक भएकाले आफूले अध्यक्षमा दाबी गरेको अध्यक्षका प्रत्यासी पाण्डेले बताए।
अध्यक्षमा हालसम्म पाण्डे र वर्तमान अध्यक्ष रवि सिंहले उम्मेद्वारी घोषणा गरेका छन्। अहिलेसम्म यी दुईबाहेक अन्यले उम्मेदवारी घोषणा गरेका छैनन् । सिंहले नीतिगत सुधारलाई पूर्णता दिन उम्मेदवारी दिने तयारीमा रहेको बताए ।
महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने महासंघले जनाएको छ।
अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । साधारणसभामा सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन र व्यवसायीहरूका अन्य मागहरु छलफल भई काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।