काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले बहुपदमा जाने भएपछि पदाधिकारी बनाउने तयारी गरेको छ। जसपाबाट महन्थ ठाकुर अलग भएको ६ महिनापछि पदाधिकारीमा जान गृह कार्य सुरु भएको हो।
बिहीबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा बहुपदमा जाने विषयमा छलफल भएको हो।
हाल केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मात्रै पदाधिकारी छन्। अब बहुपदमा जाने भएपछि १० देखि १२ जना पदाधिकारी हुन सक्ने बताइएको छ। तर, जसपा नेता महोम्मद इस्तियाक राईले पदाधिकारी बनाउने विषयमा छलफल मात्रै भएको बताए।
‘पार्टीमा पदाधिकारी बनाउनुपर्छ भन्ने विषयमा प्रवेश पाएको छ। कति बनाउने र क-कसलाई बनाउने भन्ने विषयमा फाइनल भइसकेको छैन’ राईले भने,‘आज दिउँसो २ बजेदेखि बस्ने कार्यकारिणी समिति बैठकमा छलफल हुन सक्छ।’ कार्यकारिणी समिति बैठकमा तीन शीर्ष नेता यादव, भट्टराई र राई सम्मिलित पार्टीको निर्णय गर्ने समिति बनाउने विषयमा समेत निर्णय हुनसक्ने बताइएको छ।
यस्तै राजनीतिक प्रतिवेदन, स्थानीय निर्वाचनको तयारी लगायत अजेण्डा समेत बैठकले पारित गर्ने भएको छ। स्थानीय तह निर्वाचनमा उठ्ने उम्मेदवारको सिफारिसमा अशोक राईको हस्ताक्षर चल्ने भएको छ। त्यस विषयमा समेत बैठकले अनुमोदन गर्ने भएको छ।
आज कार्यकारिणी समिति बैठक सकिए लगतै शनिबार ११ बजे संघीय परिषद् बैठक बस्ने भएको छ। संघीय परिषद् बैठक सकिएपछि आइतबार र सोमबार केन्द्रीय समिति बैठक बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।