काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ।
आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि यसअघि जारी गरेको सूचनाका आधारमा १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ।
१० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको आयोगले जनाएको छ। सबै कम्पनीसँग खरिद सम्झौता भइरहेको जनाइएको छ।
आयोगले खरिद सम्झौताका लागि बिहीबारसम्मको समयसीमा तोकेको थियो। १० वटै छुट्टाछुट्टै प्याकेजमा आयोगले २७ करोड १९ लाख ५२ हजार ८०६ रुपैयाँ खर्चिनेछ ।
आयोगका अनुसार १० वटा प्याकेजको २३ वटा सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिनु पर्दा र छेकबारामा १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ। आयोगले निर्वाचनमा करिब २२ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।