काठमाडौं- सरकारले २०७९ सालमा दिइने बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयका अनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय भएको हो।
मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवंम सट्टा बिदा र कार्यालयसमय समेत निर्धारण गर्ने निर्णय गरिएको छ।
नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते सार्वजनिक बिदा हुनेछ।
आगामी वर्ष दशैं बिदा लम्बिएको छ। गृहको बिदा सूचीअनुसार दशैंको विजयादशमीको पर्सिपल्टसम्म बिदा दिने निर्णय भएको छ।
यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो। जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैं बिदा हुने भएको छ। यता, तिहारको बिदा कात्तिक ७ देखि १० गतेसम्म हुनेछ। छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ।
यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ।
यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समुदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ। यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ। यता, बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ।
यसैगरी, उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा र घोडेजात्राको दिन बिदा हुनेछ।
यस्तै, मजदुर, गणतन्त्र, प्रजातन्त्र र महिला दिवसका दिन सार्वजनिक बिदा हुनेछ। बुद्ध, फाल्गुनान्द, गुरु नानक जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा हुनेछ।
यसैगरी बैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म खुल्नेछ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।