काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलका निष्कर्ष प्रस्तुत भएको छ। बुधबार गठन गरिएका ९ वटा समूहमा भएको छलफलको निष्कर्ष समूह नेताले बिहीबारको बैठकमा प्रस्तुत गरेका हुन्।
रिपोर्टिङ गरेका समूहहरुले आगामी निर्वाचनमा कमसेकम पनि आफूहरुको पूर्वपार्टीभन्दा ठूलो पार्टी बन्नुपरेको बताएका थिए। गठबन्धन नभइ एकल रुपमै चुनावमा जाँदाखेर पनि शानदार विजय हासिल हुनुपर्ने र सोही किसिमको सम्पूर्ण तयारीहरु हुनुपर्ने कुरामा उनीहरुको जोड थियो।
'हाम्रा सबै रणनीति, कार्यनीतिहरु त्यसै अनुसार निर्देशित हुनुपर्दछ। हाम्रो सम्पूर्ण शक्ति भन्नाले केन्द्रीय कमिटीका सदस्यहरु, हाम्रा पार्टी सदस्यहरु, ७७ वटै जिल्ला कमिटीहरु, सातवटै प्रदेश कमिटीहरु, ७५३ वटै पालिका कमिटीहरु, ६७४३ मध्ये हाम्रो अहिलेसम्म बनेका सबै वडा कमिटीहरु सम्पूर्ण शक्तिका साथ यो निर्वाचनमा शानदार विजय हासिल गर्नेगरी कन जानुपर्छ भनेर नवै समूहबाट सुझाव आएको छ', एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
गठबन्धन आफूहरुको मात्रै कारणले नबनेको र त्यसको आवश्यकता पनि आफूहरुलाई मात्रै नभएको बताएको थियो। 'गठबन्धनमा आबद्ध पाँचै दललाई गठबन्धनको आवश्यकता छ। र त्यसकारणले हामीले अन्तिमसम्म पनि प्रयत्न गर्नुपर्छ। स्थानीय तहको चुनाव मात्रै होइन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन कायम गरेर जाने खालको कुरामा हदै सम्मको लचकता अपनाएर हामीले कोसिस गर्नुपर्छ भन्ने खालको कुरा उठेको छ', तुलाधरले भने।
आफूहरुको मात्रै मनोगत आग्रहले गठबन्धन नहुने तुलाधरले बताए। 'हाम्रो मात्रै इच्छाले हुने कुरा भएन। अरु दलले त्यो चाहना गरेनन् भने गठबन्धन चुनावमा नहुन पनि सक्छ', उनले भने।
समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।
हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, सम्मानित नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्। समसामयिक प्रस्ताव सहित आजै बैठक सम्पन्न गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।