संखुवासभा- संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परि मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु भएका १४ र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा मादी नगरपालिका -६ को वर्ष ३० की सिता बिक, वर्ष ३२ की अञ्जना कटुवाल, तुलसा कटवालकी छोरी वर्ष ५ कि दिक्षा कटवाल रहेका छन्। त्यस्तै वडा नम्बर ५ का वर्ष ४९ का भवानी प्र. दाहाल, वर्ष ४८ का दिपक कुमार दाहाल, वर्ष ५५ श्याम शेर्पा र सहचालक उमेश भट्टराई रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि नगरपालिकाको वडा नम्बर २का वर्ष ४२ का ईन्द्र अधिकारी, वडा नम्बर ४ का वर्ष ६० का बल बहादुर कार्की, वर्ष २८ की सबिता कार्की र आइत बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।
ताप्लेजुङ ठेगाना भएकी वर्ष ३१ की समीक्षा योञ्जन उनका ८ वर्षीय छोरा सुदिप घिसिङको पनि दुर्घटनामा मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालक तेह्रथुम फाक्चामाका ३१ वर्षका विपिन निरौलाको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।
बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्। घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धरान लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।