काठमाडौं– संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको थियो।
बस दुर्घटनास्थलमा नै रहेका मादी-६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको जानकारी दिए।
'१४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छ' वडा अध्यक्ष तामाङले नेपाल लाइभसँग भने, '५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।' गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने उनले बताए।
तामाङका अनुसार २ वर्षे बच्चा गाडीमा च्यापिएको अवस्थामा रहेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ।
वडा नम्बर ६ का २ जना घाइते भन्ने जानकारी आएको बताउँदै वडा अध्यक्ष तामाङले मृतकमा अधिकांश वडा नम्बर ४ र ५ को रहेको बताए। दुघर्टना सात बजेको आसपास भएको सूचना पाउनासाथ आफूहरु दुर्घटनास्थल पुगेको बताउँदै तामाङले गाडीको अवस्था हेर्न सकिने अवस्थामा नरहेको बताए।
मादी-६ का वडा अध्यक्ष धननारायण तामाङ
'म साढे सातमा दुर्घटनास्थल आइपुगेको थिएँ। यहाँ आउँदा अवस्था कहाली लाग्दो रहेछ' तामाङले भने, 'सात घुम्तीमामा गाडी नमोडी सिधै खसेको देखिन्छ।' उनका अनुसार मोडबाट करिब ५० मिटर तल बस बजारिएको थियो। जहाँ ११ वटा शव फेला परेको अध्यक्ष तामाङले बताए। बाँकी शव खोचजस्तो स्थानमा फेला परेको थियो।
'मोडबाट खसेर बस पहिला ५० मिटरजति तल बजारिएछ र त्यहाँबाट पनि खसेर करिब ३ सय मिटर जति तल पुगेको छ' उनले भने, 'सुरुमा बजारिएको ठाउँमा नै ११ वटा शव निकालियो। बाँकी शव तल फेला परेको हो। केही यात्रु उछिट्टिएर घाइते हुनु भएको रहेछ।'
बसको छतसहितको भाग टुक्राटुक्रा अवस्थामा रहेको छ । सिट र पाङ्ग्रामात्र देखिने अवस्थामा रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले घटनाको थप विवरण संकलनको कार्य जारी रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।