काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाएको छ।
श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको भन्ने गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन्। अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्रालयका सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो। विमानस्थलमा श्रमिकहरूको समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरेका छन्।
विमानस्थलमा श्रमिकलाई यसअघि छुट्टै प्रवेशद्वारबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै प्रवेशद्वारबाट पनि जान पाउने व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।