काठमाडौं– ‘भूमि आयोगका मान्छै हौं, जग्गा दिलाइदिन्छौं’ भन्दै सुकुम्बासीबाट पैसा असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका दुई जना जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतको फागुन २३ गतेको आदेशले पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौंको बसन्तनगर नजिक एक क्याफेमा बसेर सुकुम्बासीबाट नगद उठाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले झापाको भद्रपुर नगरपालिका–३ स्थायी घर भइ काठमाडौंको टोखा–८ बानियाटार बस्ने ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौंको बूढानीलकण्ठ–४ घर भएका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको थियो।
चौधरी र भण्डारीले सुकुम्बासीलाई जग्गा दिलाइदिने भन्दै प्रतिव्यक्तिबाट ५० हजार रुपैयाँका दरले उठाएर फाराम भर्न लगाएका थिए। ५० हजार रुपैयाँ दिएपछि काठमाडौंमा ४ आना जग्गा पाइने भन्दै उनीहरुले आश्वासन दिने गरेका थिए।
प्रहरीले उनीहरुको साथबाट ल्यापट, प्रिन्टर, भूमिहीनले भर्नुपर्ने भनिएका फारामहरु, निवेदनको ढाँचा लेखिएका कागजपत्र र मोबाइल सेटहरु बरामद गरेको थियो। अनुसन्धान सकेर अदालत पेश भएकोमा उनीहरु दुवै जनालाई पुर्पक्षमा पठाउने आदेश भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।