काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने भएको छ। उपमहासचिव गंगालाल तुलाधरका अनुसार ती समूहहरुले भोलिको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेछन्।
'केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्षबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ। सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर हामीले ९ वटा समूहको विभाजन गर्छौं। केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरु त्यसका विभाजित हुनुहुन्छ। र हरेकले आ-आफ्नो समूह नेता छनौट गर्नुहुन्छ। र रिपोर्ट तयार गर्नुहुन्छ', उनले जानकारी दिए।
आज दिनभर समूह छलफल हुने उनले बताए। भोलि बिहान ११ बजेदेखि बैठक सुरु हुने र समूहमा उठेका लिपिबद्ध गरेर समूह नेताले प्रस्तुत गर्ने उनको भनाइ छ। 'अध्यक्ष कमरेडले सबै जिज्ञासाहरुलाई मनमा राखेर त्यसको उत्तर दिने, कतिपय कुराहरु प्रष्ट पार्ने काम गर्नुहुन्छ। सम्मानित नेता कमरेडले आफ्नो मन्तव्य राख्नुहुन्छ। पछि समसामयिक प्रस्ताव सहित बैठक सम्पन्न हुन्छ,' उनले भने।
तुलाधरले सचिवालयको बैठक, स्थायी कमिटीको बैठक र पोलिटब्युरोको बैठक यस बीचमा सम्पन्न भएको र ती बैठकहरुले तय गरेका अजेन्डाहरु नै केन्द्रीय कमिटीको अजेन्डा भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।