काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी नेपालको हितमा रहेको बताएका छन्। देशका लागि आवश्यक रहेकै कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि यसको वकालत गरेको बताएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।
उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे। ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्नेर? यसरी त मिल्दैन नि!’
एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति उनले जनाए। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्ग नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’
नेता सिंहले अब पार्टीका सबै नेता तथा कार्यकर्ताहरुले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिन र कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।