भक्तपुर– चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ। नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मंगलबार स्मार्ट पालिका घोषणा गरिएको हो।
नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरप्रमुख सोमप्रसाद मिश्रले नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए।
‘कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्याउन लिइएको अपेक्षा पूरा गरेको छ,’ नगरप्रमुख मिश्रले भने, ‘अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ।’
स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै संघीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए।
नगरपालिकाका नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।