काठमाडौं– परराष्ट्रमन्त्री डा नारायण खड्का मंगलबार राति टर्की प्रस्थान गरेका छन्। फागुन २७ देखि २९ गतेसम्म अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी टर्की प्रस्थान गरेका हुन्।
टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ। मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ।
मन्त्री खड्काले बुधबार गैरआवासीय नेपाली संघ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।
नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ। परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल फागुन ३० गते स्वदेश फर्कनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।