काठमाडौं– काठमाडौंको सरस्वतीनगरमा आगलागी भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित एक सिरक डसना बनाउने टहरामा आगो लागेको हो।
भारतको मोतिहारी घर भइ हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका ४५ वर्षीय रहिम मन्सुरीको टहरामा मंगलबार बेलुकी ७:४५ बजेतिर आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले ४ वटा दमकलको प्रयोगबाट २ घण्टामै आगो नियन्त्रणमा लिएका छन्।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १२५ जना, नेपाली सेनाबाट ३७ जना र सशस्त्र प्रहरीबाट ९ जना सुरक्षाकर्मी परिचालित भएका थिए। ४ वटा दमकल (जुद्ध बारुणयन्त्र काठमाडौंबाट २, भक्तपुरबाट १ र ललितपुरबाट १) को सहायतामा ९:१५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगोले सिरक डसना बनाउने टहरा र सँगै रहेको दिनेश श्रेष्ठको ५ तल्ले घर समेतमा क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट अन्दाजी ३४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भइ आगो लागेको देखिएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त वौद्धले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।