फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन्। उनले केन्द्रीय समितिको बैठक नै नबोलाइ, आगामी अभियान र रणनीति तय गर्न केन्द्रीय सदस्यहरुलाई समावेश नगरी थालिने अभियान प्रभावकारी नहुने बताए।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेता र केन्द्रीय सदस्यहरूको बैठकमा उनले 'घरघर जाऔं कांग्रेस जिताऔं'को सट्टा 'निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार' भन्ने नारा अघि सार्नुपर्ने प्रस्ताव पनि गरेका छन्।
'घरघर जाऔं कांग्रेस जिताऔं' नामक एक महिने अभियानका लागि बोलाइएको छलफलमा महरले केन्द्रीय सम्पादन समितिले प्रस्ताव गरेको प्रतिवेदनमाथि फरक प्रस्ताव पेस गरेका हुन्।
कांग्रेसले आसन्न चुनावलक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
उनले आसन्न चुनावलक्षित गरेर पार्टीले चलाएको 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियानको नारामा जनताको जनजीविका र आवाज नसमेटिएको टिप्पणी गरेका छन्।
केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त रणनीतिक बैठक बोलाई आसन्न निर्वाचनको रणनीति बनाउनुपर्ने नेता महरको माग छ।
‘विधानभन्दा बाहिर गएर पदाधिकारी र सम्पादन समितिको बैठकको हवाला दियर निर्णय गर्न पाइँदैन। निर्णय निर्माण गर्ने संख्या भनेको केन्द्रीय समिति हो,’ उनले भने, ‘केन्द्रीय समितिको गरिमा, अधिकार र कर्तव्य र यसको ओज घटाउने काम गर्नु हुँदैन।’
गठबन्धन गर्दा स्थानीयस्तरको आवश्यकता अनुसार गर्न दिनुपर्ने बताउँदै उनले जनतासँग जाँदा अभियानमा कांग्रेसलाई जिताउनु पर्ने आधारहरू थप व्याख्यासहित संशोधन गरेर तल पठाइनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।