रसुवा– रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ। जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्त्व रहेको छ।
उकालो बाटो हिँड्दा कठिन हुने भएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकोप्टर रोज्न थालेका हुन्।
स्थानीय होटल व्यवसायी हेलिकोप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो रहेको बताउँछन्। गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ। हेलिकोप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकोप्टर कम्पनीले बताएका छन्।
गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ। आउन जान तीन/चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकोप्टरतर्फ केन्द्रित हुन थालेका हुन्।
हेलिकोप्टरले काठमाडौंको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्याउँछ। दर्शनका लागि आधा घण्टा भन्दा बढी अतिरिक्त समय दिन्छ। बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने गरेको यात्रुहरू बताउँछन्।
पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छन्।
हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, छ्याङछ्याङ झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु काठमाडौं सीतापाइलास्थित जनउद्वार माविका शिक्षक राजु केसीले बताए।
हेलिकोप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपश्चात् भगवान शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र हेलिप्याडको डिलबाटै केही तल अवस्थित सरस्वती एवं भैरव कुण्डसमेत देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउँछन्।
तामाको दियोमा गाईको घीउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल, जटाभएको नरिवल एवं पहेँलो बस्त्र चढाइ जौ, तिल, केसरी, बेलपत्र र फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टंकप्रसाद ढकालले बताए। –ज्ञानेन्द्र न्यौपाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।