काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’ सोमबार उद्घाटन गर्दै उनले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेसँगै कारबाही र जरिवाना तिराएर उपभोक्ता समितिमार्फत काम गरेर सिँचाइ योजना सम्पन्न गरेको जानकारी दिए। उहाँको अनुसार तीन किलोमिटर लम्बाइको सिँचाइ कुलोमा आवश्यकतानुसार मुहानको बाँध, आरसिसी लाइनिङ, मेसेरेनरी वाल, पाइपलाइनलगायतका संरचना उपभोक्ता समितिको नेतृत्वमा योजनाका लाभग्राही किसानबाट कार्यसम्पन्न गरिएको हो।
निर्माण व्यवसायी र समितिमाफर्त योजना पूरा गर्दा रु एक करोड ७३ लाख लगानी भएको सो अवसरमा जानकारी दिइएको थियो ।
‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’लाई जिल्लाकै नमूना योजना बनाउन सफल भएकाले पनि दलीय प्रतिनिधिमार्फत उद्घाटन गराई विकासको मोडेल देखाउने प्रयास गरिएको समितिका अध्यक्ष नरेन्द्रनाथ थपलियाले बताए।
योजना सम्पन्न भएसँगै करिब सय घरधुरी किसानलाई बाह्रै महिना उनीहरूले उपभोग गर्ने एक हजार १०० रोपनी क्षेत्रफल भूमिमा सिँचाइ गर्न पानी प्रशस्त उपलब्ध भएको छ । मानव निर्मित उक्त सिँचाइ योजनालाई प्रकृतिकै स्वरुपमा बहन गर्न दिइएको छ भने ठाउँ–ठाउँमा झरना तथा छहरा आकर्षक बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।