काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ।
सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन लड्ने विषय टुंग्याउन कार्यदल बनाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए।
‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ।’
उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए। केन्द्रीय सदस्यमा सिफारिस गर्दा आफन्तहरु परेको भनी गुनासो आएको प्रश्नमा उनले द्वन्द्वकालबाट आएको पार्टी भएकाले त्यस्तो देखिएको टिप्पणी गरे।
सुरु सुरुमा नेपाली कांग्रेस पनि कोइराला परिवारको जस्तो देखिएको तर, पछि नयाँ नयाँ आएको भन्दै उनले माओवादीमा अहिले त्यही भएको बताए।
युद्ध लडेका मानिसलाई पनि अन्याय नहुने गरि शान्ति प्रक्रियापछि आएका नयाँ नयाँ कार्यकर्तालाई पनि स्थान दिइएको पुनको दाबी छ। उनले बाहिर आएको कुरालाई पार्टीले गम्भीर रुपमा लिएको पुनको प्रतिक्रिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।