फाइल तस्बिर।
काठमाडौं- नेकपा माओवादी केन्द्रको विधान संशोधन हुने भएको छ। सो पार्टीका नेता हरिबोल गजुरेलले केही नयाँ व्यवस्था राखेर विधान संशोधन गर्ने बताए।
उनले महाधिवेशन लगत्तै पदाधिकारी छनोट गर्नुपर्ने र त्यसपछि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने बताए। तर, त्यो बेलामा विभिन्न कारणले सम्भव नभएको उनको भनाइ छ।
अहिले केन्द्रीय समितिलाई पूर्णता दिने र त्यसपछि पोलिटब्युरो, स्थायी र पदाधिकारी अर्को चरणमा गर्ने भन्ने छलफल भएको उनले बताए।
चुनावअगाडि पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्य चयन गर्ने सम्भावना नरहेको उनले बताए। आजको बैठक केन्द्रीय समितिलाई पूर्णता दिएर सकिने उनको भनाइ छ।
केन्द्रीय समितिमा थपिने ९७ जनाको नाम पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तावित गरिसकेका छन्। त्यसलाई अनुमोदन गर्न बैठक बसिरहेको छ।
गजुरेलले पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यको चयन अर्को केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने बताए। 'एमसीसी सम्बन्धी बहस पनि अर्को केन्द्रीय समितिबाट निर्णय गर्ने। र, पदाधिकारी, स्थायी र पोलिटब्युरोबारे अर्को केन्द्रीय समितिले निर्णय गर्ने', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।