काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गर्नुपर्ने धारणा राखेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकका क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्रीसँग प्रधानमन्त्री असन्तुष्ट रहेको र फेर्ने विषय आइरहेको विषयमा सञ्चारकर्मीले सोधेको विषयमा वर्षमानको यस्तो भनाइ आएको हो। ‘अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने विषय सरकारकै अजेन्डा बनाएर छलफल गर्नुपर्छ आरोप प्रत्यारोप गर्नुभन्दा पनि,’ उनले भने, ‘प्रधानमन्त्रीको अहिलेको जिम्मेवारी कोभिड १९ बाट थलिएको अर्थतन्त्र सम्हाल्ने हो। आफ्नो अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गर्न सक्नुहुन्छ। यो मन्त्रीको सक्षम र असक्षमको कुरा होइन।’
उनले निर्वाचन अघि सरकारका मन्त्री हेरफेरलगायतका विषयमा गठबन्धनमा कुनै छलफल नभएको बताए। ‘त्यो अजेन्डा पनि बनेको छैन। कांग्रेसभित्र किन प्रश्न उठ्यो भन्ने कुरा उहाँहरुको आन्तरिक समस्या हो। एकथरि साथीहरु गठबन्धनको पक्षमा कुरा गर्ने अर्कोथरि साथीहरु गठबन्धनको विपक्षमा कुरा गर्ने गर्नुहुन्छ,’ उनले भने।
उनले पार्टीको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कार्यालय बनाउने विषयमा अध्यक्षलाई अधिकार प्रत्योजन गर्ने बताए। ‘निर्वाचन लगत्तै पदाधिकारी चयनलगायत कामहरु हुन्छन् मुख्य कुरा जिम्मेवारी र कार्यकारीको कुरा हो,’ उनले भने, ‘सहमति नभएर भन्दा पनि समयको अभावले ढिलाइ भएको हो। समय लिएर नै अब छलफल गरेर अघि बढ्छौं।’
उनले अध्यक्षले सानो आकारको नै केन्द्रीय कार्यालय बनाउने भन्दै भइपरी आउने कुरा केन्द्रीय कार्यालयले हेर्ने अरु बाँकी केन्द्रीय कमिटीले नै काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।