काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ। वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो।
त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले आग्रह गरेकको छ। कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ।
युक्रेनमा श्रम स्वीकृति लिएर वा नलिई गएर श्रम गरिरहेका नेपाली अप्ठ्यारोमा परेर उद्धार गर्नुपर्ने अवस्थामा रहेको भएमा तु्रुन्त सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेनमा रहेका नेपालीलाई सम्भव भए सिधा कल सेन्टरमा र नसके आफन्तमार्फत भए पनि आफ्नो सम्पूर्ण अवस्था जानकारी गराउन आग्रह गरिएको जानकारी दिए।
नेपाल सरकारसँग युक्रेनमा कति नेपाली छन् भन्ने यकिन विवरण छैन। वैदेशिक रोजगारीका लागि युुक्रेनमा श्रम स्वीकृति लिएर जानेको संख्या भने २३७ रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।