काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७२ को भूकम्पले क्षतिग्रस्त बनेका महानगरपालिका भित्रका ऐतिहासिक तथा पूरातात्विक सम्पदाहरुको पुन:निर्माण सकिएको दाबी गरेका छन्। पुन:निर्माणको काम कहीँ छुटेको भए खबर गर्न पनि शाक्यले अपिल गरेका छन्।
प्राय सबै सम्पदाहरुको पुन:निर्माणको काम भइसकेको दावी गर्दै शाक्यले कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरे।
शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुन:निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए।
चुनावमा आफूहरुले गरेको प्रतिवद्धताअनुसार नै सम्पदाहरुको पुन:निर्माणको कामले गति लिएको शाक्यले दाबी गरे।
महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदाहरुको पुन:निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोहीअनुसार काम भइरहेको मेयर शाक्यको भनाइ थियो।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर–टू–नगर साझेदारी कार्यक्रमअन्तर्गत अन्य नगरपालिकाहरुका सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।