काठमाडौं- युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण गर्ने कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका मन्त्रालयले जनाएको छ। हालसम्म ५११ जना नेपालीहरु सो मुलुकबाट सीमावर्ती मुलुकहरूमा पुगेका छन्। ती मध्ये पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरिसकेका छन्।
उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
नेपाली राजदूतावास, बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ।
युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदैछन् भने केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्यान्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध भइसकेको र तदनुरूपको सहयोग ती सबै राष्ट्रहरूबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ।
उद्दार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्य समिति कृयाशील रहेको मन्त्रालयले जनाएको छ।
नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको छ। बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड-युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्यान्डमा खटिएका छन्।
युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएको र भारत सरकारले सकारात्मक जवाफ दिएको मन्त्रालयले जानकारी दिएको छ। सो सहयोग उपयोग गर्न बर्लिनस्थित नेपाली राजदूताबासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको छ।
रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको छ। त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने हुनाले इच्छुक सबैलाई नेपाली राजदूतावास, बर्लिनको देहायको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।