काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखिएको विवाद समाधान हुने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘आजको बैठकमा केन्द्रीय सदस्य मनोनय गर्नेदेखि एमसीसीको विषयमा नै केन्द्रित हुन्छ,’ उनले भने, ‘एजेन्डा धेरै रहे पनि बैठकमा एमसीसीको विषय प्रमुख एजेन्डाका रुपमा प्रस्तुत हुने देखिन्छ।’ नेता नारायणकाजी श्रेष्ठको असन्तुष्टिका विषयमा उनले पार्टीभित्र फरक मत राख्न पाइने भन्दै त्यो वैधानिक कमिटीहरुमा राख्नु उपयुक्त हुने र पार्टीको निर्णय अनुसार हिँड्नुपर्ने बताए।
‘अल्पमतले विनाशर्त बहुमतको निर्णय स्वीकार्नुपर्छ। उहाँहरुको रवैया देखेर नै अध्यक्षले केही भन्नुभएको होला,’ उनले भने, ‘असन्तुष्टका विषय त पार्टीभित्र बोल्ने हो नि बाहिर बोल्दै हिँड्ने होइन।’
उनले महाधिवेशनपछि पार्टीका हरेक निर्णय पुरानै स्थायी कमिटीका नेताहरु बसेर गर्दै आएको भन्दै उनले आफ्नो पक्षमा निर्णय हुँदा ठीक मान्ने र आफ्नो विपक्षमा निर्णय हुँदा वेठीक सोच्न नहुने बताए। ‘पार्टी भित्र देखिएको विवाद साम्य हुन्छ नै कुरा मिलिसक्यो उहाँको माग के के थियो होला त्यो अध्यक्षले पुरा गर्नुभयो होला,’ उनले भने, ‘उहाँ(नारायणकाजी)लाई बरिष्ठ उपाध्यक्ष न चाहिएको हो। त्यो भए पछि त समस्या समाधान भइहाल्यो नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।