काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो। तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले यस विषयमा विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको पनि जनाएको छ। ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगले भनेको छ।
अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगले उल्लेख गरेको छ।
‘यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लिखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ,’ आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न, अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुने तर्फ विचार पुर्याउन पनि आयोगले सबैलाई आग्रह गरेको छ।
‘आफूलाई प्राप्त प्रमाणहरु सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन, गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।