काठमाडौं- नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' बीच भेटवार्ता भएको छ।
बिहीबार बिहान नेता रावललाई भेट्न महासचिव विप्लव टोखास्थित उनको निवास पुगेका थिए।
भेटमा विप्लवले संसदबाट पारित भएको एमसीसीविरुद्ध आन्दोलनका साथै राजनीति सहकार्य गर्न प्रस्ताव गरेको जनाइएको छ।
विप्लवले केही दिन यता एमसीसीविरुद्धमा रहेका विभिन्न दलका नेतासँगको भेटघाटलाई तिव्रता दिएका छन् र यस्तो प्रस्ताव गरिरहेका छन्।
नेकपा एमालेका नेता रावल एमसीसी पारित गर्न नहुने पक्षमा थिए। एमालेले नाराबाजी गरेको प्रतिनिधि सभा बैठकमा आइतबार उनले एमसीसी विरुद्ध अभिव्यक्ति दिएका थिए।
विप्लवले यसअघि बुधबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए।
माओवादी नेता श्रेष्ठले पार्टीले एमसीसीको पक्ष लिएको भन्दै बिरोधमा छन् भने एकीकृत समाजवादीका नेता खनालले एमसीसी पारित गर्नका लागि गत आइतबार बसेको दोस्र बैठक बहिष्कार गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।