काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल गरिरहेका छन्।
श्रेष्ठ निकट स्रोतका अनुसार बिहीबार बिहान आफ्नै निवास हात्तीवनमा नेता श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका हुन्।
‘काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसँग उहाँले छलफल गरिरहनुभएको छ,’ एक नेताले भने, ‘अध्यक्षसँग भएको पछिल्लो भेटवार्ता र पार्टीमा देखिएको विवादका विषयमा छलफल केन्द्रीत भइरहेको छ।’ पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु एकदिन अघि नेता श्रेष्ठले आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा केही चिसोपना आएको छ।
प्रचण्डको अभिव्यक्तिसँग आफू निकट नेताहरुसँग छलफल गरेका श्रेष्ठलाई मंगलबार प्रचण्डले उनकै निवास पुगेर भेटवार्ता गरेका थिए भने बिहीबार बिहान पअध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
बुधबार भने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' नेता श्रेष्ठलाई भेट्न पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।