काठमाडौं– विभिन्न चार देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा नियमित उडानको तयारी गरेका छन्। यसअघि उडान सञ्चालन गरेर बन्द भएको गल्फ एयर, थाइ स्माइल एयरलाइन्स, विज्ज एयर र गो एयरले नेपालमा उडान गर्ने तयारी गरेका हुन्।
मध्यपूर्वबाट नेपालमा व्यावसायिक उडान गर्ने बहराइनको गल्फ एयरले सन् २०१४ देखि नियमित उडान रोकेको थियो। यसले लगातार १० वर्ष नेपालमा उडान गरेको थियो। तत्कालीन समयमा इन्धनको शुल्क, यात्रु अभावलगायत कारण देखाएर गल्फले उडान रोकको थियो।
गल्फबाहेकका अन्य तीन कम्पनी भने पहिलोपटक नेपाल आउन लागेका छन्। यिनीहरुमध्ये थाइ स्माइलले सबै प्रक्रिया पूरा गरिसकेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। यसले नेपाल–थाइल्यान्ड उडानको तयारी गरेको छ।
नेपालमा नियमित उडान गर्ने तयारी गरेको गो एयर भारतीय वायुसेवा कम्पनी हो। यो वायुसेवाले पनि पर्यटन मन्त्रालयमार्फत प्राधिकरणमा उडान अनुमतिको प्रक्रिया अगाडि बढाएको छ।
त्यसैगरी हंगेरीको वायुसेवा कम्पनी विज्ज एयरले पनि उडानका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ। कम्पनीले नेपालमा कुवेतबाट उडान गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।