काठमाडौं– पोखरामा पनि बर्डफ्लु रोग भेटिएको छ। पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको हो।
ती वडामा बुधबार २ सयभन्दा बढी कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए। ती स्थानमा फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ।
पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ।
स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याई आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाडौँ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै स्थानमा सङ्क्रमण पुष्टि भएको हो।
यसअघि काठमाडौं, चितवन तथा उदयपुरमा समेत बर्डफ्लु भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।