काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन्। गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले यस्तो बताएका हुन्।
‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौं। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने।
एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए। उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे।
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए। एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पारे।
गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए। भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए।
‘प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने,‘एकातीर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।