कैलाली– नेपाली कांग्रेस कैलालीमा नयाँ सभापति चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा नेता डा. शेखर कोइराला समूहले प्रकाश बहादुर बमलाई सघाउने भएको छ।
पहिलो चरणमा कोइराला समूहबाट सभापतिका उम्मेदवार रहेका रामबहादुर कलेलले आफ्नो समूहले बमलाई सहयोग गर्ने निर्णय गरेको बताए। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन्।
कैलालीमा कांग्रेस सभापति चयनका लागि बिहीबार दोस्रो चरणको निर्वाचन हुँदैछ।
आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी रहेका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।
पहिलो चरणमा बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। बम र भट्ट दुवै कांग्रेसको संस्थापननिकट भए पनि संस्थापनले भट्टलाई आधिकारिक उम्मेदवारका रुपमा अघि सारेको छ।
दोस्रो चरणमा कोइराला समूहको मत निर्णायक बन्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।