काठमाडौं– नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित भएका छन्। सभापति पदका उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्।
पोखरेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिए। जिल्ला सभापतिका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि आज पुनः मतदान गरिएको थियो। पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो। नौ मत भने बदर भएको थियो।
यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।
पोख्रेल नेपाल विद्यार्थी संघको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवत्ता, निर्विरोध पार्टी सचिव, २०५४ सालमा वडाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै निरन्तर २८ वर्षदेखि पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।