काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार एक शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी हुन्।
आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा उल्लेख छ। ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो,’ सन्देशमा उल्लेख छ, ‘हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ।’
राष्ट्रपति भण्डारीले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवद्र्धन गर्न प्रण गर्नुपर्नेमा समेत जोड दिएकी छन्। पाशुपत क्षेत्रलगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवं अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवं अध्येताहरूले अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।
आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा समेत परिवर्तन भइरहेको पाइन्छ। मौलिकतालाई कायम राख्दै परिवर्तनलाई ग्रहण गर्न र परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षहरूलाई त्याग गर्न सरकारका सबै निकायका साथै नागरिकको सक्रियता आवश्यकता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।