नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा बन्दकर्ताहरुले गरेको आगजनी
काठमाडौं– अमेरिकी आर्थिक अनुदान सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोप्रति बन्द आह्वान गरेका (बन्दकर्ता)हरुले विभिन्न पार्टीको कार्यालय लगायतका सार्वजनिक सम्पत्तिमा आगजनी गर्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्फ्यू आदेश जारी गरिएको छ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वक नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सोमबार नेकपा एमालेको सुर्खेत जिल्ला कार्यालयमा आगजनी गरेका थिए। बन्दकर्ताहरुले सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका कार्यालयमा समेत तोडफोड गरेका थिए।
पार्टी कार्यालयमा आगजनी र तोडफोडको घटनाले शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै सोमबार साँझदेखि कर्फ्यू आदेश जारी गरिएको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुकी ८:३० बजेबाट मंगलबार साँझ ७ बजेसम्मका लागि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
प्रजिअ रिजालका अनुसार पूर्वामा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर नगरपालिका–७ तथा दक्षिणमा लाटिकोइली शिव मन्दिर हुँदै कांक्रेबिहार, देउती बज्यै एवम् सुब्बाकुना सम्मको क्षेत्रमा लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।