काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीमा कीर्ते हस्ताक्षर गरेर निर्वाचन आयोगमा दल दर्ता गरेको आरोप लागेको छ। स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि लोसपाले पनि दर्ता गरेको छ।
निर्वाचन आयोगले आज (सोमबार) जारी गरेको सूचनाअनुसार स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि ८० राजनीतिक दलहरु दर्ता भएका छन्। जसमध्ये लोसपाको नाम आठौं नम्बरमा छ। आयोगले फागुन ५ देखि १५ गतेसम्मका लागि दल दर्ताको समय तोकेको थियो।
आयोगले जारी गरेको सूचना अनुसार दल दर्ताको लागि निवेदन दिँदा संलग्न गर्नुपर्ने कागजातहरुमध्ये महिलो नम्बरमा ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि’ लाई राखिएको छ। तर, लोसपामा भने केन्द्रीय समिति नै छैन।
जनता समाजवादी पार्टीबाट विभाजित भएर गत भदौमा महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो। ‘हाम्रो पार्टीमा केन्द्रीय समिति गठन भएको छैन। ३१ जनाको कार्यकारिणी समिति थियो। त्यसमा पनि ३ जनाले पार्टी छाडेकाले अहिले २८ जनाको मात्रै छ’, एक कार्यकारिणी समिति सदस्यले भने, ‘तर कार्यकारिणी समितिको बैठक बसेकै छैन। केन्द्रीय समिति गठन भएकै छैन।’
आयोगमा कुन निर्णय बुझाएर दल दर्ता गरियो भन्नेमा आफू समेत आश्चर्यचकित भएको उनले बताए। ‘एक पटक पनि बैठक नबसेकाले कीर्ते हस्ताक्षर बुझाएर दर्ता गरिएको बुझिन्छ’, उनले भने, ‘किनकि, मैले कहीँ हस्ताक्षर गरेकै छैन।’
लोसपाले गत माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनका लागि दल दर्ताको निवेदन दिएको थियो। निर्वाचनमा पनि भाग लिएको थियो। त्यतिबेला पनि बैठक बसेर निर्णय नगरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।