काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न व्याख्यात्मक घोषणाका नाममा 'नौटंकी' गरिएको टिप्पणी गरेको छ।
एमसीसी पारित भएपछि प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक टिप्पणी नौटंकी मात्रै भएको बताए।
प्रतिपक्षको विरोधकै बीचमा पारित गरिएको व्याख्यात्मक घोषणा देशभित्र र अन्तराष्ट्रिय रुपमा मान्यता नहुने पनि भट्टराईले दाबी गरे। ‘हामी वेल घेराउमा थियौं। अन्तर्राष्ट्रिय रुपमा वेल घेराउ हुँदा बैठक चलाउने गरिँदैन,’ उनले भने, ‘प्रतिपक्षको आवाजलाई सभामुखले कुनै न कुनै रुपमा सम्वोधन गर्नुपर्ने। तर, जवरजस्ती संसद चलिरह्यो। ’
यसअघि आन्दोलनका नाममा नौटंकी गरिरहेकाहरुले नै एमसीसी पास गरेको भन्दै भट्टराईले सत्तारुढ गठबन्धनका दलहरुको आलोचना गरे। 'व्याख्यात्मक टिप्पणी, कुनै अर्थ नभएको कागजको खोस्टो पास गरिएको छ,’ उनले भने ‘यसको देशभित्र र अन्तर्राष्ट्रिय मान्यता हुँदैन । यसरी पास गरेको कारण देशभरका जनता आश्चर्यमा परेका छन्।’
दुई–चार थान मन्त्रीहरुको पद र माधव कुमार नेपाल नेतृत्वक पार्टी जोगाउन व्याख्यात्मक घोषणाको 'नाटक' गरिएको पनि भट्टराईले टिप्पणी गरे।
‘दुई चार थान मन्त्रीको पद जोगाउन र माधव नेपालले पार्टी जोगाउन यस्तो भएको हो,’ उनले भने।
पार्टीले संसद्मा अवरोध पुर्याइरहेको अवस्थामा सांसद् भीम रावलले एमसीसी माथिको छलफलमा सहभागी भएको विषयमा पार्टीमा छलफल हुने भट्टराईको भनाइ छ। ‘भीम रावलले संसद्मा बोलेको कुरा पार्टीमा छलफल हुने छ । संसद्मा उहाँले सत्तारुढ दलको नौटंकीको भण्डफोर गर्नुभएको छ,' भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।