काठमाडौं– प्रतिनिधि सभा बैठकमा अमेरिकी अनुदान सम्झौता (एमसीसी)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबारको बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन्।
नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री शर्मा यसअघि एमसीसी सम्झौता संसद्मा टेबल हुँदा अनुपस्थित भएका थिए।
यसअघि बिहीबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने कार्यसूची तय भएका बेला मन्त्री शर्मा भने बैठक 'छल्ने गरी' काठमाडौं बाहिर (पर्वत) पुगेका थिए। यद्यपि बिहीबार प्रतिनिधि सभा बैठक बस्न सकेन।
सत्तारुढ गठबन्धन दलबीच व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सहमति जुटेको छ।
यसअघि एमसीसीको विपक्षमा रहँदै आएका सत्तारुढ गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।