काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)सँग एमसीसी सम्झौताका सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने आधार के हो? भन्दै प्रश्न गरेका छन्। सम्झौताको संकल्प प्रस्तावका रुपमा तयार भएको घोषणा अमेरिकाले नमाने के हुन्छ? भनेर पनि सांसदहरुले प्रचण्डलाई प्रश्न गरेका छन्।
प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने निर्णय गरिसकेका छन्। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले समेत व्याख्यात्मक घोषाणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ।
केन्द्रीय समितिको बैठकपछि बसेको संसदीय दलको बैठकमा सांसदहरुले व्याख्यात्मक घोषणालाई अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले स्वीकार गर्ने आधार खोजेका हुन्।
सुरुदेखि नै एमसीसीको विरोधमा रहेका प्रमुख सचेतक देव गुरुङले बैठकमा बोल्दै व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार नगरे के हुन्छ भन्ने बारेमा प्रष्ट हुनुपर्ने बताए । ‘११ बुँदे प्रस्ताव हाम्रा सांसदहरुले यो अनुमोदन गर्नुहोला। यसका लागि हामी तयार पनि होउँला, तर यो एमसीसीले नै स्वीकार नर्गदा के हुन्छ?’ गुरुङले प्रश्न गरे, ‘एमसीसी मुख्य सम्झौता हो। हामीले संसद्बाट पारित गर्ने प्रस्ताव सहायक सम्झौता हो। एमसीसीले मुख्य सम्झौता नमानेर सहायक सम्झौता मान्छ भनेर कसरी भन्न सकिन्छ?’
माओवादी केन्द्रभित्र उनीसहित नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले केन्द्रीय समितिको बैठकमै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयविरुद्ध फरक मत दर्ज गरेका छन्।
संसदीय दलको बैठकमा अहिले अध्यक्ष तथा दलका नेता प्रचण्डले सांसद्हरुबाट आएका प्रश्नको जवाफ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।