काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको हो।
नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्ने निर्णय गरेपछि संसदीय दललाई त्यसको जानकारी गराउन बैठक बोलाइएको हो। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आइतबार बिहान मात्रै एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णयपछि सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आजैको दोस्रो बैठकले एमसीसी अनुमोदन गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्।
माओवादी केन्द्रको यसअघि बसेको संसदीय दलको बैठकले एमसीसी टेबल भए विपक्षमा मत दिने निर्णय गरेको थियो। तर सत्ता गठबन्धन बचाउने उपाय स्वरुप व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न सहमत भएको हो।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो। तर पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो। माओवादी केन्द्रमा हाल ४८ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।