फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रको निवर्तमान स्थायी समिति बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा पाँच नेताले असन्तुष्टि राखेका छन्।
आइतबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल र प्रमुख सचेतक देव गुरुङले असन्तुष्टि राखेको एक नेताले बताए।
एमसीसी व्याख्यात्मक रुपमा पारित गर्ने भएपछि माओवादीका अधिकांश नेता असन्तुष्ट भएपनि पाँच नेताले आफ्नो धारणा राख्नेक्रममा असन्तुष्टि पोखेको ती नेताले बताए। ती नेताहरुले सुरुदेखि नै एमसीसीका विषयमा चर्को विरोध गर्दै आएका छन्।
‘अध्यक्ष प्रचण्ड कमरेडले सत्ता गठबन्धन, वर्तमान राजनीतिक परिस्थिति र एमसीसी व्याख्यात्मक रुपमा पारित गर्ने कुरा राखेपछि नेताहरुले असन्तुष्टि राख्नुभयो’, ती नेताले भने, ‘अन्तिममा प्रचण्ड कमरेडले के के विषयमा एमसीसीमा असहमति हो त्यो विषय हामीले फाइनल गर्छौं। त्यसपछि गठबन्धनमा छलफल हुन्छ। यही नै फाइनल भन्ने होइन। अझै छलफल र बहस बाँकी नै छ।’
एमसीसीका विषयमा गरेको निर्णय पार्टी केन्द्रीय समितिबाट समेत अनुमोदन गरिने प्रचण्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।