काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ।
प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार तीन नेताबीच अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको बाँकी संसदीय प्रक्रियाका विषयमा छलफल भइरहेको छ।
सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा (संशोधन नगरी) एमसीसी संसद्बाट पारित गर्न नसकिने बताउँदै आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न सहयोगको प्रस्तावसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल अगाडि बढाएका थिए।
देउवाले बिहीबारदेखि एमालेसँग छलफल चलाए पनि एमाले आफ्नो पुरानै अडानमा कायम रहेपछि सहमित जुट्न सकेको छैन।
यसैबीच शनिबार दिउँसो नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच समेत छलफल भएको थियो। सिंहदबारमा छलफल सकेपछि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।