बाबुराम भट्टराई
काठमाडौं– सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता पास नगर्ने भए माओवादी केन्द्रले तत्काल सरकार छाड्नुपर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै लिएर भट्टराईले एमसीसी पास गराउन सहयोग नगर्ने भए सरकारमा बसिरहनुको कुनै औचित्य नभएको पनि बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले संसद्बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिए।
एमसीसी सम्झौता संसद्मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने भट्टराईको भनाइ छ।
'कि त तपाईंले यसलाई साथ दिनोस्। १३८ (सांसद संख्या) पुर्याएर पारित गर्नोस्। होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन। पहिलो विकल्प, तपाईंले साथ दिनुहोस्। होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ,' भट्टराईले प्रचण्डको नाम लिँदै भने।
आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागिपरेको पनि भट्टराईको भनाइ छ। मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले एमसीसी पारित गरेर जानुपर्ने भट्टराईको तर्क छ।
एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए।
'यो एमसीसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आइपर्दैछ। त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ,' भट्टराईले भने।
भट्टराईले नेपालले चीन, भारत र अमेरिका लगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।