केपी शर्मा ओली, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा नेकपा एमाले देश र जनताको हितभन्दा पर नजाने बताएका छन्। शनिबार एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोबन गर्दै उनले एमाले हल्लाबाट निर्देशित नहुने बताए। आफूहरु तथ्यबाट निर्देशित हुने उनको भनाइ थियो।
उनले एमसीसीलाई सट्याकसुटुक नभएर जनतालाई बताएर कार्यान्वयन गर्ने उद्देश्यले प्रतिनिधि सभाबाट अनुमोदन गर्न खोजेको बताए।
ओली नेतृत्वको सरकार रहँदा नै एमसीसी प्रतिनिधि सभाबाट अनुमोदनको लागि २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता गरिएको थियो। त्यसलाई अनुमोदन गर्नका लागि अहिले विवाद निम्तिएको छ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा पत्र लेखेर एमसीसीको प्रसंग सुरु भएको स्मरण गरेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अन्तर्गतको परियोजना लागू भयो भने एमालेले जस लिने भनेर विरोध गरेको बताए। ओलीलाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अनुमोदन गर्ने भनेर देउवालाई भनेको र सरकार परिवर्तन गर्न भूमिका खेलेको ओलीको भनाइ थियो।
आफूहरुसँग नेपाली कांग्रेसले कुरा गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको सातो उडेको ओलीको भनाइ छ। उनले आफूहरुलाई सत्ता गठबन्धनले संसद्मा सहभागी हुन नदिएकाले आफ्नो धारणा राख्न नपाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।